काठमाडौं । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ ।
आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
सेमिफाइनलमा पुग्ने टिमले ५०–५० हजार पाउने छन् । प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५–२५ हजार पाउने छन् ।