Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप

चीनले नेपाललाई कोरोनाविरुद्धको तीन लाख डोज खोप दिने

चीनले नेपाललाई कोरोनाविरुद्धको तीन लाख डोज खोप दिने

  • सोमवार, माघ १९ २०७७

  • 1.0K
    SHARES

  • चीनले नेपाललाई कोरोनाविरुद्धको तीन लाख डोज खोप दिने

    काठमाडौं । चीनले पहिलो चरणमा नेपाललाई कोभिड– १९ विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको छ ।

    ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । भूकम्प वा महामारीजस्ता चुनौतीहरूको सामना गर्नुपर्दा दुवैले एक–अर्कालाई दुःखसुखमा सहयोग गरेका छन्,’ चिनियाँ दूतावासद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउने छ । नेपाल सरकारको अनुरोधमा चीनले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ ।’

    चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुई चरणमा लगाएपछि कोभिडविरुद्ध यो खोपले करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाएको चिनियाँ दूतावासले जनाएको छ । जसले ९९ दशमलव ५२ प्रतिशत एन्टिबडी बनाएको छ । अहिलेसम्म दुई करोड ४० लाख डोज खोप प्रयोगमा आइसकेको जानकारी पनि दूतावासले दिएको छ । चीनले दिएका खोप करिब एक लाख ५० हजार नागरिकलाई लगाउन पुग्ने छ ।

    चीन र अन्य मुलुकहरूमा खोपको माग व्यापक बढिरहेका वेला चीनले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि दूतावासले उल्लेख गरेको छ । ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ,’ प्रेस नोटमा भनिएको छ ।

    विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य मुुलुकहरूबाट पनि मान्यता पाएको छ । खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरीलगायत १३ देशमा आपत्कालीन प्रयोगका लागि मान्यता पाएको छ ।

    नेपालका सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा चिनियाँ दूतावासले आपत्कालीन उपयोगका लागि खोपको दर्ता प्रक्रिया अघि बढाएको र चाँडै नेपालमा आपूर्ति हुने दूतावासले जनाएको छ ।

    यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


    सोमवार, माघ १९ २०७७०६:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij