काठमाडौं । नेकपाको ओली समूहका नेता खगराज अधिकारीले राष्ट्रपतिको सिन्दुर खोइ भन्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । नेता अधिकारीले कसैको व्यक्तिगत कुरालाई राजनीतिमा ल्याएर प्रयोग गर्न नमिल्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भन्नुभयो “ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गैरकानुनी काम गरिरहनुभएको छ, पार्टीको विधान विपरित, संविधान विपरित उहाँहरुले गरेको कामसँग हाम्रोे कुनै सम्बन्ध छैन, संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार प्रष्ट रुपमा उल्लेख छ, प्रचण्डजीको राजनीतिक कृयाकलाप हेर्दा सबै अराजनीतिक छन्, उहाँले अपशब्द प्रयोग गरेर बोलीरहनुभएको छ । ”
नेता अधिकारीले सरकार गठन देखिनै काँग्रेससँग मिलेर प्रधानमन्त्रीलाई हटाउन प्रचण्ड लागी परेको आरोप लगाउनुभयोे । चुनावमा जानु तानाशाही नभएको उहाँले जिकिर गर्नुभयो । चुनावको विकल्प नभएको बताउँदै स्वच्छ चुनाव गराउने पक्षमा आफूहरु रहेको नेता अधिकारीको भनाई छ ।
दाहाल–नेपालको पार्टी विधिसम्मत र कानुन सम्मत नभएको बताउँदै तमासा मात्रै देखाएको अधिकारीले बताउनुभयो । फुटपाथमा बसेको बैठक आधिकारीक नहुने उहाँको तर्क छ । निर्वाचन आयोगले छलफल गर्न बोलाउँदा नजानेहरु आफ्नो अनुकुलको नियमावली बनाएर आयोग जान नमिल्ने अधिकारीले बताउनुभयो ।
हाँले पार्टीको विधान अनुसार निर्वाचन आयोगले फैसला गरिसकेकाले आधिकारीक आफूहरु भएको दाबी समेत गर्नुभएको छ ।
दाहाल–नेपाल नयाँ दल दर्ता गर्न गए त्यसको आफूहरुले सम्मान गर्ने बताउँदै त्यो समूह निर्वाचनमा नगए पनि चुनाव हुने नेता अधिकारीले दावी गर्नुभएको छ ।