काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
दाहाल–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको हो ।
आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।
यता, आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिनुभयो ।
‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भन्नुभयो, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।
यो समाचार आजको रातोपाटी डटकममा छ ।