काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शुक्रबार (आज) आमसभाको आयोजना गर्दै छ ।
ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । उक्त समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । आजको सभामा २ लाख भन्दा बढी कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।
सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले सम्बोधन गर्ने भएका हुन् ।
कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।
काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किने भएका छन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुने तय भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ धारमा विभाजन भएको छ । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्रता दिएका छन् ।
पछिल्लो समय संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि बिहीबार दाहाल–नेपाल समूहले आम हड्ताल नै गरेको थियो । यसअघि दाहाल–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरिसकेको छ ।