काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले लगाएको जनै देखाउँदै कतिपय हिन्दु धर्मका कुरा गर्ने नेताहरुले बरु जनै नलगाउने गरेको हुन सक्ने बताएका छन्।
यस्ता नेताहरुलाई धर्मको राजनीति नगर्न उनले आग्रह गरेका छन्। नेताहरूले एउटा धर्म च्याप्ने गरेको उल्लेख गरेका पौडेलले यो राजनीति नभएको पनि बताए।
धर्मका कुरा गर्ने नेताहरूले नै जनै लगाएका छन् कि छैनन् भन्ने पनि उनले प्रश्न गरे।
‘अहिले धर्मका नाममा जुन नेताहरू हिँड्नु हुन्छ नि, खोलेर हेर्ने हो भने त्यहाँ जनै पनि छैन होला,’ कांग्रेस रामपुर नगर कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाटमा पौडेलले भने, ‘मैले त जनै लगाएको छु। मसँग जनै छ। म हिन्दु हो, म पूजापाठ गर्छु। त्यो मेरो आस्था हो। तर म यसलाई राज्यमा लगेर राख्न चाहन्न। अरू धर्ममाथि म यो थुपार्न चाहन्न।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै पशुपतिनाथ मन्दिरमा गरेको पूजाआजातर्फ लक्षित गर्दै कम्युनिष्ट प्रधानमन्त्रीले धर्मको कुरा गरेको उल्लेख गरेका छन्।
‘हिन्दुको संरक्षक हुँ भनेर पशुपतिनाथमा कम्युनिष्ट प्रधानमन्त्रीको नाटक?,’ उनले प्रश्न गरे, ‘एउटा धर्मलाई च्याप्ने यो राजनीति होइन।’
उनले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पनि बताए।