काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी बन्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीका सबै कदम त्यतैतिर उन्मुख रहेकोले शाह र ओली अध्यक्ष रहेको पार्टी बने आश्चर्य नहुने पनि बताए।
पूर्वी नवलपरासीको कावासोतीमा शनिबार दिउँसो कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुवै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन ।’
उनले शाह र ओली एउटै पार्टीको अध्यक्ष रहेको पार्टी बन्ने दिन धेरै टाढा नरहेको पनि दाबी गरे।
‘यी दुवै (ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन’, उनले भने।
ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो ।
‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।’
प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए ।