काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता केशव झाले पार्टी अध्यक्ष महन्थ ठाकुर राजनीतिक भ्रमणमा भारत नगएको जानकारी दिनुभएको छ ।
उहाँले अध्यक्ष ठाकुर उपचारका लागी गएकाले भारत जानुमा कुनै राजनीतिक अर्थ नरहेको पनि स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भन्नुभयो,“अध्यक्ष ज्युको स्वास्थ्यमा समस्या देखिएकाले उपचारका लागि भारत जानुभएको छ, उहाँ भारत जानुले कुनै राजनीतिक अर्थ राख्दैँन ।”
फरक प्रसंगमा नेता झाले पार्टी प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको जानकारी दिदैँ त्यस विषयमा पार्टीमा कुनै मतभेद नरहेको जिकिर गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा सुनुवाईका क्रममा रहेकाले अदालतले जे फैसला गरेपनि पार्टीले त्यसलाई स्वीकार्ने उहाँले जानकारी दिनुभएको छ ।
देशमा अहिले जे परिस्थिती सिर्जना भएको छ, त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पुष्पकमल दाहाल प्रचण्ड बढी जिम्मेवार रहेको नेता झाको तर्क छ ।
उहाँले भन्नुभयो, “आप्नो स्वार्थ पूर्ति हुञ्जेल केहि नबोल्ने ओलीलाई साथ दिने अलिकति मतभेद हुने बित्तिकै भ्रष्टाचारदेखि अन्य धेरै कुरामा ओलीलाई दोषी देखाउनु, प्रचण्ड जीको गैरजिम्मेवारीपन हो, जसको नतिजा अहिले नेपाली जनताले भोगिरहेका छन् ।”