काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताउनु भएको छ ।
जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौं शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला छ । यस्तो बेलामा तपाईंहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ । ”