काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको नेपाली काँग्रेसले आजको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ । काँग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।
संसद् विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ठूला सभा राजधानी काठमाडौंमा मात्र गर्ने कि प्रदेशस्तरमा पनि आयोजना गर्ने भन्ने विषयमा छलफल जारी छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद् विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राख्नुभएको थियो ।
सभापति शेरबहादुर देउवा भने संसद् विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आउनु भएको छ ।