काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै हुनुहुन्छ । उहाँ नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लाग्नुभएको हो ।
डा.भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उहाँको सचिवालयले जनाएको छ । उहाँ लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ। उहाँले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनु भएको थियो ।
अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उहाँ त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
दिल्लीस्थित ‘इन्स्टियुटअफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उहाँको उपचार हुने पाण्डेले बताउनुभयो ।
भट्टराईसँगै उहाँकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनुहुने छ ।