काठमाडौं । नेता देव प्रसाद गुरुङले आफु अझै पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकर्ता भएको दावी गर्नुभएको छ ।
उहाँले सर्वोच्च अदालतले न्यायपूर्णरुपमा नभएर राजनीतिक प्रकारको देखिएको टिप्पणी गर्दै आफु नेकपाको कार्यकर्ता भएको स्पष्ट पार्नुभयो ।
उहाँले नेकपाको आधिकारिकता सम्बन्धी फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको उल्लेख गर्नुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भन्नुभयोे,“सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको छ । धेरै कोणहरूबाट यो फैसला न्यायपूर्ण छैन् । त्यसको आधारमा आज पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ । यो अपेक्षित थिएन फैसला, अनपेक्षित नै हो । राजनीतिक प्रकृतिको छ । समग्र फैसलाको अध्ययन गरेर, सल्लाहबाट मात्रै विस्तार पूर्वक हाम्रो धारणा आज सार्वजनिक गर्छौ ।”
कानुन व्यवसायीको धारणा सुनेर आज स्थायी कमिटीको बैठक बसी पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभएको छ ।
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो ।