Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जसपा संसदीय दलको बैठक बस्दै, सरकारको नेतृत्व दावी गर्ने तयारी

जसपा संसदीय दलको बैठक बस्दै, सरकारको नेतृत्व दावी गर्ने तयारी

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.1K
    SHARES

  • जसपा संसदीय दलको बैठक बस्दै, सरकारको नेतृत्व दावी गर्ने तयारी

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेसँग सत्ता साझेदारीका लागि वार्ता थालेको जनता समाजवादी पार्टी (जसपा)ले आज संसदीय दलको बैठक बोलाएको छ ।

    दिउसो १ बजेपछि बस्ने गरी बोलाइएको बैठकमा पार्टीका शिर्ष नेताहरुले एमाले नेताहरुसँग गरेको छलफलका बारेमा जानकारी गराउने भएका छन् ।

    बैठकले सत्तामा जाने की नजाने र जाने भएमा के कस्तो अवस्थामा जाने र को कोसँग संवाद र सहकार्य गर्न सकिने भन्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

    पार्टीका नेता राजकिशोर यादवले पार्टीबाट निर्वाचित सांसद रेशम चौधरी रिहाइ गर्नु पर्ने आफुहरुको मुख्य सर्त रहेको बताउनु भयो ।

    नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा नेता यादवले भन्नुभयो,“रेशम चौधरीको रिहाइ हाम्रो मुख्य सर्त हो, त्यसपछि संविधन संशोधान मुख्य माग हो, ती कुरा सरकारले कसरी पुरा गर्न सक्छ भन्ने कुरामा हामी छलफल गर्छौँ ।”

    उहाँले संविधान संशोधनका लागि दुई तिहाइ चाहिने र एमालेसँग मात्रै मिलेर दुइतिहाइ नहुने भएकाले धु्रवीकरणबाट आफुहरुको माग पुरा गर्न संभव नभएको पनि उल्लेख गर्नुभयो। दलहरुलाई ध्रुवीकरण हुन नदिनका लागि जसपाकै नेतृत्वमा सरकार बनाउनु पर्नेमा पनि नेता यादवले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामी आफै सरकारको नेतृत्वको दावी गर्छौँ, हाम्रो पार्टीमा धेरै नेता प्रधानमन्त्री बन्न योग्य हुनुहुन्छ, देशलाई सहमतीय राजनीतिमा लैजान जसपाको नेतृत्वमा सरकार बन्नु पर्छ ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउनु पर्ने पक्षमा लामो समयदेखि उभिदै आएको पार्टी अहिले उहाँसंगै मिलेर सरकार बनाउने बारेमा छलफल गर्न थालेपछि जसपालाई फेरी पनि सत्ता भोगी पार्टीको रुपमा हेर्न थालिएको छ ।

    जसपाकै अर्का नेता डा बाबुराम भट्टराईले भने ओलीसँग सत्ता सहकार्य गर्न नहुनेमा जोड दिदै हिजोको बैठकमा समेत अनुपस्थीत हुनुभएको थियो ।

    डा भट्टराईले भने ओली विरुद्धको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने र नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बनाएर अगाडि बढ्नु पर्ने पक्षमा जोड दिने गर्नु भएको छ ।

    ओलीका विरुद्धमा लामो समयदेखि उभिदै आएको जसपालाई ओलीसँग तत्काल सहकार्य गर्न नैतिक रुपमा गाह्रो पर्ने भएकाले काँग्रेस र माओवादीसँग मिल्नु पर्नेमा जसपाकै धेरै नेताहरुको भनाई छ ।

    सत्ता सहकार्यका लागि एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा र जसपाको तर्फबाट लक्ष्मणलाल कर्णको नेतृत्वमा छुट्टा छुट्टै कार्यदल बनेका छन् ।

    दुवै कार्यदलको संयुक्त बैठक पनि आजै बस्ने नेताहरुले जानकारी दिएका छन् ।


    शुक्रवार, फाल्गुण २८ २०७७०९:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij