काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका पद खारेज गरेको छ। उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो।
यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ। प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीले पाएका छन्।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए। बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ।
अब एमालेको केन्द्रीय कमिटी सदस्य सङ्ख्या दुई सय ६४ पुगेको छ।
पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ।