काठमाडौं । नेकपा (एमाले)की नेतृ शान्ता चौधरीले पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाब दिएकी छिन् । चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घातक खेलाडी भएकाले उनको साथ छोड्न सुझाब दिएकी हुन् ।
प्रचण्डले नेता नेपाललाई खेतालालाई जस्तो व्यहार गरेको बताउँदै एमालेकी सांसदसमेत रहेकी चौधरीले यसले उनीप्रति थप शंका उब्जाउने र उनलाई थप समस्यामा पार्ने बताएकी छिन् ।
‘आदरणीय माधव कमरेड तपाईँ घातक खेलाडीको साथमा हुनु हुन्छ जुन कुरा तपाईँलाई हामीले बारम्बार सुझाएका छौँ, नेतृ चौधरीले ट्विटरमा लेखेकी छिन्, ‘कमरेड प्रचण्डको तपार्इँलाई आफ्नो खेताला जसरी गर्नुभएको प्रस्तुतिले शंका बढाउने र तर्पाँंलाई झन् समस्यामा पार्ने अवस्था बन्दै जानेछ ।’
प्रचण्डले एमालेप्रति धावा बोल्दा पनि वरिष्ठ नेता नेपाल चुप लागेको भन्दै उनले चित्तसमेत दुखाएकी छिन् ।
‘एमालेमाथि यस्तो धावा बोल्दा किन चुप बस्नु हुन्छ ?’, उनको प्रतिप्रश्न छ ।
चौधरी प्रधानमन्त्री केपी ओलीनिकट नेतृ हुन् ।
शुक्रबार मात्रै प्रचण्डले नेपाल समूहले एमाले पार्टी कब्जा गर्ने अन्यथा विद्रोह गरेर आफूहरुसँग फेरि एकता गर्न आउने भनी भविष्यवाणी गरेका थिए ।
