काठमाडौं । सिरहामा आज बम विष्फोट भएको छ । जिल्ला सदरमुकाम सिरहा नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको हो ।
मालपोत कार्यालयको माथिल्लो तलाको हलमा विष्फोट भएको सिरहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाट भएको हो ।
विष्फोटमा परी सुब्बा शिवकुमार यादवलगायत आठजना घाइते भएका छन् । घाइतेमध्ये दुइजनाको अवस्था गम्भीर छ । उनीहरुलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
विष्फोटले आगलागी हुँदा कार्यालयको कागजातसमेत जलेका छन् ।
घटनाबारे विस्तृत जानकारी लिन प्रहरी उपरीक्षक सुदीप घिमिरे नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
यद्यपि, घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश –२ प्रहरी कार्यालयका प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।