काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता राजकिशोर यादवले सत्ता समिकरणप्रति पार्टीभित्र कुनैपनि किसिमको दुई धार नरहेको दावी गर्नुभएको छ ।
उहाँले निश्चितरुपमा जसपा दुई अलग–अलग पार्टी मिलेर बनेको भएपनि पार्टीभित्र सत्ताबारे दुई धार नरहेको दावी गर्नुभयो ।
नेता यादवले केहि सञ्चारमाध्यमहरुले जसपामा विवाद छ भनेर कृत्रिम प्रचार गरेको पनि आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भन्नुभयो,“बिहिबारको कार्यकारिणी बैठकका एजेण्डा पूर्णरुपमा तयार नहुँदा बैठक केहि दिन पछि सारिएको छ, हामी अनिर्णयको बन्दी बनेका छैनौँ, अबको बैठकले उचित निर्णय गर्ने छ, देशका केहि मिडियाहरुले कृत्रिमरुपमा जसपामा विवाद छ भनेर प्रचार गरेका छन् ।”
उहाँले जसपाले अहिलेसम्म सत्ता समिकरणको विषयमा कुनैपनि ठोस निर्णय नगरेकाले आफुहरु कसैको पक्ष र विपक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
वैचारिक बहस र विमर्श सबै राजनीतिक दलमा हुने गरेको उल्लेख गर्दै नेता यादवले अरुको घर झगडा जसपामा ल्याएर पार्टी कुनै पनि हालतमा विभाजन नहुने दावी गर्नुभएको छ ।