काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व तहमा बस्ने व्यक्तिले संक्रिण सोच नराख्नुपर्ने बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेतृत्व तहमै संक्रिण सोच हुँदा देश गतिशील बन्न नसकेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरिष्ठ नेता नेपालले भन्नुभयो,“नेतृत्व नै सानो अनि संक्रिण मनस्थितीको भएपछि देश र पार्टी एकजुट हुन सक्दैँन्, फराकिलो मनका साथ काम गरे पो आफ्ना गल्ति, कमीकमजोरी औंल्याउनसकिन्छ ।”
नेकपा एमाले पार्टी बनाउन आफ्नो पनि महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै उहाँले कसैले पार्टीबाट निकाल्ने धम्कि दिदैँमा आफु नडग्मगाउने स्पष्ट पार्नुभएको छ ।
आफुमाथि एमाले पार्टी फुटाउन लागेको भन्ने मिथ्या आरोप लगाएको भन्दै नेता नेपालले रोष प्रकट गर्नुभयो ।
एमाले र माओवादी केन्द्रबीचको एकता नै बदर गर्ने सर्वोच्च अदालतको फैसला सहि नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो जन्म लिइसकेको बच्चालाई फिर्ता जाउ भन्न मिल्छ ?