काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ ।
पुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् । थ्री नेसन्स कपको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू–२३ टिम भिड्ने छन् ।
बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुने छ । बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने लक्ष्य रहेको बताईसकेका छन् ।
नेपालले भने पहिलो खेलमा बुधबार (भोलि) किर्गिस्तानसँग खेल्ने छ ।दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्ने छ ।
नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुने छ ।राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुने छ ।