काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले पार्टीका निर्णयअनुसार नचल्ने नेताहरुको सांसद पद पनि जानसक्ने चेतावनी दिनुभएको छ ।
माधव नेपाल र भीम रावलतर्फ संकेत गर्दै प्रमुख सचेतक भट्टराईले यस्तै विवादीत तरिकाले अघि बढ्ने, पार्टीका आधिकारीक निर्णय नमान्ने र पछि संसद्को ह्वीप पनि नमान्ने हो भने पद जानसक्ने चेतावनी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टीको विधानअनुरुप नचल्ने जो कोहिलाई नियमानुसार कारवाही गरिने जानकारी पनि दिनुभएको छ ।
प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता नहुने दावी गर्नुभएको छ । उहाँले विधानअनुरुप नै ओलीले महत्वपूर्ण निर्णय गर्नुभएको बताउदैं फिर्ता नहुने बताउनुभयो ।
बालुवाटार प्रधानमन्त्रीको निजी घर नभएर सरकारी निवास भएकाले त्योसँग छोइछिटो नमान्नुपर्ने सचेतक भट्टराईको धाराणा छ । उहाँले सबै विवाद त्यागेर पार्टी एकतामा जोड दिन पनि सबै नेताहरुलाई आग्रह गर्नुभएको छ ।