काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली राजनीतिक खेलाडी भएकाले पार्टी एकताका लागि उहाँले छिट्टै केही न केही कदम चाल्ने बताउनुभएको छ ।
ओलीसँग छिटो छिटो उचित निर्णय लिनसक्ने खुबी रहेकाले पार्टी विवादलाई पनि चाँडै समाधानको दिशातिर लैजाने सचिव भट्टराईको बिश्वास छ ।
पार्टीका अधिकांश नेता कार्यकर्ताहरु एमाले पार्टीको एकताको पक्षमा रहेको उहाँको दावी छ ।
सचिव भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीपनि पार्टी एकताको पक्षमा रहेको बताउदैँ समस्याको समाधान कुन विन्दुबाट सुरु गर्ने भन्नेमा ओली अल्झिएको दावी गर्नुभयो ।
फागुन २३ गते पार्टीको विधानविपरीत बसेको केन्द्रीय कमिटी बैठकका निर्णय पार्टी अध्यक्ष ओलीले सच्याए पार्टी एकता कायम हुने प्रष्ट पार्नुभएको छ । मुलुकको भविष्यलाई ख्यालमा राख्दैं ओलीले केही कदम पछि हटेर पार्टी एकता कायम गर्नुपर्ने सचिव भट्टराईले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव भट्टराईले पार्टीमा कोही पनि सतप्रतिशत सही नभएकाले सबैले आफ्ना कमी कमजोरी औंल्याएर सच्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले देश जटिल परिस्थितीमा फसेकाले पार्टी एकतामा जोड दिनुपर्ने बताउनुभएको छ । देश र पार्टी दुबैको हितका लागि शीर्ष तहका नेताहरुबीच समन्वय र सहकार्य हुनुपर्ने उहाँको धारणा छ ।