काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोरोनाभाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।
चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप आज काठमाडौं आईपुगेको हो । दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप नेपाल ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनको राजधानी बेइजिङ पठाइएको थियो ।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिने छ ।