काठमाडौँ । एएफसी कप–२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले श्रीलंका पुलिस टिमसँग खेल्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ ।
पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
यस प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।
सहिद स्मारक ’ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।
श्रीलंका पुलिस पनि आर्मीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । राष्ट्रिय टिमका खेलाडी नभएपनि विदेशी खेलाडी राम्रो भएकोले आर्मीविरुद्ध जित निकाल्नेमा श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सु आशावादी छन् ।