काठमाडौं । नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको करीव एक सातापछि देउवाले आज दिउँसो ३ बजेका लागि तीन दलको बैठक बुढानिलकण्ठमा बोलाउनुभएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक मूलत सत्ता समीकरण नयाँ सरकार निर्माणका विषयमै केन्द्रीत रहने छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरुको उपस्थित रहने शर्माले बताउनुभयो । देउवाको पछिल्लो कदमले सत्ता समीकरणमा केही नयाँ देखिने संकेत गरेको छ ।
एक साता अघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिएको थियो ।
काँग्रेस केन्द्रीय समितिबाट निर्णय भएपछि सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए ।
सत्ता समीकरणको निर्णायाक शक्तीको रुपमा जसपा रहेको छ । जसपा पनि ओलीले आफ्नो पक्षमा राखि राख्न प्रयास जारी राखेका छन् ।