काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन आज जनकपुरको बाह्रविघामा हुँदैछ ।
महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने नेताहरुले बताएका छन् ।
उनीहरुका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महाधिवेशनका लागि भारत, अमेरिका, चीनलगायत विभिन्न ४२ वटा देशलाई जनमत पार्टीले निमन्त्रणा पठाएको थियो । ती सबै देशलाई नेपालस्थित दूतावासमार्फत पत्र पठाएको सो पार्टीले जनाएको छ ।
यद्यपि, कोरोना भाइरसका कारण कुनै पनि देशका प्रतिनिधि सो कार्यक्रममा सहभागी नहुने बताइएको छ ।
एक दिवसीय महाधिवेशन भएको हुनाले उद्घाटन सत्रका लागि अन्य पार्टी, संघ, संगठनका प्रतिनिधिलाई अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा गरिएको छैन ।
कार्यक्रमको प्रमुख अतिथि डा. राउत स्वयं रहने छन् भने अतिथिका रुपमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते, आन्दोलनका क्रममा मुद्दा खेपेकाहरूलाई बनाउने तयारी रहेको बताइएको छ ।
उद्घाटन सत्र सकिएपछि आजै नै ३ बजेदेखि बन्दसत्र सुरु हुने पार्टीका नेता दीपक साहले बताउनुभयो ।
जनमत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । त्यसमध्ये अध्यक्षसहित ३९ सदस्यीय कार्यसमितिका लागि सम्भवतः आजै नत्र भोलि मतदान हुनेछ । बाँकी १२ वटा पदमा पछि मनोनित गरिने छ ।