Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यमन्त्री नै भन्छन्, ‘असारसम्ममा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्छन्’

स्वास्थ्यमन्त्री नै भन्छन्, ‘असारसम्ममा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्छन्’

  • मंगलवार, चैत्र ३१ २०७७

  • 778
    SHARES

  • स्वास्थ्यमन्त्री नै भन्छन्, ‘असारसम्ममा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्छन्’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण जेठ–असारसम्म उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।
    जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

    ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ आज स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमाउहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

    अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताउनुभएको छ ।

    उहाँका अनुसार अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताउनुभएको छ ।

    काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिँदै स्वास्थ्यमन्त्री त्रिपाठीले भन्नुभयो, ‘हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।’

    यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।
    यो अवधिमा अनलाइन कक्षामार्फत पठन–पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

    अहिले देखिएको कोरोना युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन सेन्टर (सिसिएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ ।

    यता, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले आजदेखि कोभिड उपचार सेवामात्र दिने जनाएको छ।

    अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने छ ।
    पछिल्लोसमय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीले जानकारी दिनुभयो ।

    ’आजदेखि ननकोभिड सेवा बन्द गरेका छौं । अन्तरंग सेवालाई कोभिडमय बनाएका छौं,’ उहाँले भन्नुभयो ।

    गत १० दिनयता अस्पतालमा कोभिड संक्रमित भर्ना हुने क्रम बढिरहेको छ । अहिले अस्पतालमा २० भन्दा बढी संक्रमित उपचारत रहेको अस्पतालले जनाएको छ ।

     


    मंगलवार, चैत्र ३१ २०७७०३:१३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij