काठमाडौँ – नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बिजुली गतिमा फैलिन थाले पनि नियन्त्रणका लागि सरकार उदासिन देखिएको छ ।
कोरोना संक्रमणको जालो भत्काउन कुन उपाय अबलम्बन गर्ने भन्नेमा नै सरकार अन्यौलमा परेपछि संक्रमणले ठूलो दुर्घटना निम्ताउने खतरा बढ्दै गएको छ । सरकारी निकायहरु नै कोरोना रोकथामका उपाय अबलम्बनको प्रक्रियामा कुहिरोमा हराएको कागझैँ भएका छन् ।
संक्रमण नियन्त्रणको काममा मन्त्रालयहरुबीच तालमेल हुन सकिरहेको छैन भने सरोकारवाला निकायहरुको फरक फरक सुझावका कारण सरकारले ठोस निर्णय लिन ढिलाइ गरिरहेको छ । सरकारी उदासिनताका कारण कोरोना संक्रमणले भयानक दुर्घटना निम्त्याउन सक्ने जनस्वास्थ्यविद डा. शरद वन्तले बताउनुभयो । अहिले सरकारले निर्देशिका जारी गर्नेबाहेक अरुथोक केही नगरेको उहाँको आरोप छ ।
यसअघि शिक्षा मन्त्रालयले कोरोना संक्रमणको चेन ब्रेक गर्न शिक्षण संस्थाहरु बन्द गरी अनलाइनका माध्यमबाट पठन पाठन गर्ने मनस्थिति बनाएको थियो । तर शिक्षा क्षेत्रका सरोकारवालाहरुले विद्यालय बन्द नगर्न सुझाव दिएपछि तत्काल त्यो निर्णय लागु गरिहाल्ने तयारीबाट शिक्षा मन्त्रालय पछि हट्यो ।
लगत्तै आज उपप्रधानमन्त्री ईश्वर पोखरेलले संक्रमण रोकथामका लागि नागरिकलाई अपिल गर्ने तयारी भए पनि अन्तिम अवस्थामा आएर त्यो पनि रोकिएको छ ।
यता स्वास्थ्य मन्त्रालयले भने कम्तीमा एक महिना विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बताउनुभयो ।
संक्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो ।
नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डरलाग्दो रहेको बताउनुभयो । मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा संक्रमण बढ्दै गए असारको अन्तिमसम्म ६ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । यही अवस्था रहे दैनिक ११ हजारसम्म संक्रमित फेला पर्न सक्ने उहाँको भनाई छ ।
संक्रमण नियन्त्रणका लागि सीमामा उच्च सतर्कता, क्वारिन्टिनको वैज्ञानिक व्यवस्थापन लगायतका काम वैज्ञानिक ढंगले गरिनुपर्ने सुझाव जनस्वास्थ्यविदले दिँदै आएका थिए । तर सरकारले भने यस्ता सुझावहरुतर्फ कुनै ध्यान दिएको छैन । सकेसम्म लकडाउन नै गरेर संक्रमण नियन्त्रणमा लिने सरकारको तयारी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट झल्किन्छ ।
तर प्रमुख विपक्षी नेपाली कांग्रेसले भने अब मुलुकले लकडाउन धान्न नसक्ने बताउँदै लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अरु उपाय अवलम्बन गर्न आग्रह गरेको हो ।