काठमाडौं । प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ ।
आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।
जारी सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिपक्षी दलहरु भने आजको बैठक चल्न नदिने पक्षमा छन् । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।
सरकारका प्रवक्ता कार्कीले भने प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरे पनि प्रकृया पूरा गरेर अधिवेशन अन्त्य गरिने बताउनुभएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।