काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको छ ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादीबाट एमाले प्रवेश गरेका दुई सांसदको पद खारेज भएको छ ।
हाल ८७ सांसद बहाल रहेको लुम्बिनी प्रदेशसभामा एमालेका ४१ सांसद छन् । मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन मात्र २ सांसद जरुरी हुन्छ । लुम्बिनी प्रदेशमा कांग्रेसका १९, माओवादीका १८, जसपाका ७ र राष्टिय जनमोर्चाका १ जना सांसद छन् ।
यसैबीच, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि २ मन्त्रीले राजीनामा दिनुभएको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिनुभएको हो ।
दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बन्नु भएको थियो । केसीलाई माओवादी र कांग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।