काठमाडौँ – त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ। नेपालका लागि ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे।
नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई २ सय १८ रनको चुनौति पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको मलेसियाले सबै विकेट गुमाएर १४८ रन मात्रै जोड्न सक्यो ।
जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। नेपालले चार खेलबाट ६ अंक जोड्यो। समान अंक भएको नेदरल्याण्ड्स नेटरनरेटमा पछाडि रह्यो।
मलेसियाले चार खेलबाट एक अंक मात्र जोड्न सक्यो। सुरुका दुई खेलमा समान ९ विकेटको प्रभावशाली जित हात पारेको नेपाल तेस्रो खेलमा २ सय ७ रनको लक्ष्य दिएर पनि नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो।
आजको खेलमा करन केसी, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङपछि नेपालले २ सय १८ रनको लक्ष्य दिएको थियो। नेपालले अन्तिम ४ ओभरमा ६७ रन जोडेको थियो।
करन केसीले १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १७ बलमा एक छक्का र पाँच चौकासहित ३३ रन बनाए। ज्ञानेन्द्र मल्लले २५ बलमा चार छक्का र एक चौकासहित ४१ रन बनाए। आरिफ शेखले ३२ बलमा ३ छक्का र तीन चौकासहित ४२ रन बनाए। कुशल भुर्तेलले २ छक्कासहित १६ रन जोडे। कुशल मल्लले १० बलमा दुई छक्कासहित १९ रन बनाए।
नेपालले टिट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत दोस्रो सर्वाधिक योगफल बनाएको हो। यसअघि भुटानसँग बनाएको २ सय ३६ रन नेपालको राष्ट्रिय कीर्तिमान रहेको छ। नेपालले अघिल्लो खेलमा नेदरल्याण्ड्सविरुद्ध बनाएको २ सय ६ रनलाई पार गर्दै दोस्रो सर्वाधिक योगफल तयार गरेको हो।
नेपाल र नेदरल्याण्ड्सबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुने छ।