Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन ३ लाख ४५ हजारमा कोरोना संक्रमण

भारतमा एकैदिन ३ लाख ४५ हजारमा कोरोना संक्रमण

नियन्त्रणको थप कदमबारे मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल
  • शनिवार, बैशाख ११ २०७८

  • 1.0K
    SHARES

  • भारतमा एकैदिन ३ लाख ४५ हजारमा कोरोना संक्रमण

    एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

    यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ ।

    यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।

    दिल्लीमा मात्रै ३४८ को मृत्यु

    भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ।

    सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

    आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

    चुनावी सभामा प्रतिबन्ध

    कोरोनाभाइरसको सङ्क्रमण अस्वाभाविक रूपमा बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

    पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले यस्तो कदम चालेको हो ।

    निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पनि जनाएको छ।

    महामारीबाट अत्यन्तै प्रभावित मध्येको राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन चरम अभाव भएको चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    मोदीले गरे मुख्यमन्त्रीहरूसँग छलफल

    महामारी दिनप्रति दिन तीव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

    पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका दिल्ली, महाराष्ट्रसहितका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् ।

    छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    “कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु, ” मोदीले भने ।

    उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए ।


    शनिवार, बैशाख ११ २०७८०७:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij