काठमाडौँ । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन् । उनलाई आज नेपाल प्रहरीले अनामनगरस्थित उज्यालो नेटवर्ककै कार्यालयबाट पक्राउ गरेको हो ।
साथै, उज्यालो नेटवर्कका सम्पादक विवेक लोप्चनको मोबाइल पनि प्रहरीले खोसेको बताइएको छ ।
विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ ।
उज्यालो नेटवर्कले केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्पचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएकोबारे समाचार प्रकाशन गरेको थियो ।
प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ ।
यद्यपि, उक्त समाचार असाबधानीबसभन्दा नियतबश छापिएको सरकारी पक्षको दाबी छ ।
