एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा इंग्लिस क्लब चेल्सीसँग बराबरी खेलेको छ ।
१३ पटकको सर्वाधिक विजेता रियलले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीसँग १–१ गोलको बराबरी खेल्दै घरेलु मैदानमा हार टारेको हो ।
रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा चेल्सीका क्रिस्टियन पुलिसिसले गोल गर्दा रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा चेल्सीलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइन्लमा प्रवेश गर्नैछ । रियललाई कम्तीमा पनि १–० को जितको खाँचो छ । दोस्रो लेग चेल्सीको मैदानमा ५ मेमा हुनेछ ।
सेमिफाइनलको अर्को खेलमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन् । खेल पिएसजीको मैदानमा हुनेछ ।