काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नु भएको छ ।
प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराउनु भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताउनु भयो । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ । उहाले भन्नु भयो, पार्टीले गरेको कारवाहीमा निर्वाचन आयोगले केही गर्न सक्दैन ।’
जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई हिजो कारवाही गरेको हो । तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही ‘भएको छैन’ भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाउनु भएको छ ।
यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् ।