काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को पहिलो सन्त्रासबाट पार नपाउँदै तिव्र रुपमा फैलिएको यसको दोस्रो लहरले मुलुक नै त्राहिमाम बनेको छ । विश्व इतिहासमै पहिलो पटक फैलिएको कोरोनाको पहिलो लहर सामान्य हुँदै गएपछि केही राहत महसुस गरेका नागरिकमा अहिले फेरि त्यस्तै नियती भोग्नुपर्ने बाध्यता छ ।
दोस्रो चरणमा फैलिएको कोरोनाले विगतको तथ्यांकलाई ओझेल पार्दै नयाँ रेकर्ड कायम गर्न थालेको छ । अहिले नेपालमा संक्रमितको संख्या मात्र बढेको छैन, मृत्युदर पनि अध्यधिक उच्च विन्दुमा पुगेको छ । कोरोना संक्रमणकै कारण एकैदिन ३५ जना समम्मको मृत्यु हुनु र ५ हजार ७ सय बढीमा संक्रमण पुष्टि हुनु नेपाल जस्तो जनघनत्व कम भएको देशका लागि चिन्ताकै बिषय हो ।
मुख्य जिम्मेवार भूमिका खेल्नुपर्ने सरकारकै लापरबाहीका कारण अहिलेको अवस्था आएको आरोप लगाउँदै प्रमुख विपक्षी नेपाली कांग्रेसले चर्को आलोचना गर्दै आएको छ ।
आफ्नै निवास बुढानिल्कण्ठमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारकै चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता महामारी फैलनुको मुख्य जिम्मेवार रहेको बताउनुभयो । सरकारले विगतको गल्तीबाट समेत पाठ सिक्न नसकेको सभापति देउवाको टिप्पणी छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै अब थपिने विरामीहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसिकने बताएको छ । आज सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य प्रणालीको क्षमता वृद्धिगर्ने, पुर्व तयारी बलियो पार्ने समय सत्ता भोगको घमण्ड र सत्ता लिप्सामै सकिएपछी सरकारले यसरी हात उठाएको भन्दै सामाजिक सञ्जलमा जनस्तरबाट समेत विभिन्न टिक्काटिप्पणी भएका छन् ।
तर सरकारले भने महामारीको पहिलो लहरबाट पाठ सिकेर अहिले कोरोना नियन्त्रणविरुद्ध प्रभावकारी कमद चालिएको दाबी गरेको छ ।
कोरोना महामारी सम्पूर्ण मानव जगतकै विरुद्धमा भएको हुँदा सबै एक भएर यसलाई पराजित गर्नुपर्नेमा उप्रधानमन्त्री ईश्वर पोखरेलले जोड दिनुभयो । सरकारको बचाउ गर्दैै उहाँले यो राज्यको मात्रै काम हो भनेर चित्रित गर्नु उचित नहुने बताउनुभयो ।
पछिल्लो केहीयता सिकिस्त संक्रमितको संख्या बढेको छ भने अस्पतालका बेडहरु, आईसीयू र भेन्टिलेटरहरु भरिभराउ छन् । अहिलेको कोरोना भाइरस निकै संक्रामक रहेको चिकित्सकहरुको भनाइ छ । अबको दिन चुनौतीपूर्ण छन् र कोरोना फर्केर पनि आउँदो रहेछ भन्ने बुझेर स्वयम् नागरिक सजक हुनुपर्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउनुहुन्छ ।
मुलुकमा आइपर्ने यस्ता महामारी तथा जनजीवनमा आइपर्ने अन्य ठूला विपत्तीमा मुख्य अभिभावकीय भूमिका सरकारको हुन्छ । यस्तो अवस्थामा सशक्त भएर बुद्धिमतापूर्वक सरकारले जिम्मेवारी बहन गर्नुपर्छ । सरकार उल्टोबाटो हिँड्यो भने विपक्षीले खबरदारी गर्ने हो ।
तर सत्तारुढ नेकपा एमालेसहित विपक्षी सबै दलहरुको समेत ध्यान महामारी नियन्त्रणतिर भन्दा सरकार टिकाउने र गिराउने अनि एकअर्कोको चर्को विरोध गर्नतिर बढी केन्द्रीत भएको भन्दै जनस्तरबाट राजनीतिक दलहरुको आलोचना हुँदै आएको छ ।