काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।
निषेधाज्ञामा कडाइ गर्ने नीतिअनुसार आज सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले बताउनुभयो ।
प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उहाले बताउनुभयो ।
आइतबारबाट निषेधाज्ञामा अझै कडाइ गर्दै लगिने पजिअ पराजुलीले बताउनुभएको छ ।
यसैबीच, प्रजिअ पराजुलीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ । निषेधाज्ञा पालना भए नभएको निरीक्षण गरिएको पराजुलीले बताउनु भयो ।
यस्तै टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।