काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित र मृतकको संख्याले दैनिकजसो नयाँ रेकर्ड बनाउँदै लगेपछि जनमानसमा उत्पन्न त्रास चरम विन्दुमा पुगेको छ । चिकित्सक तथा जस्वास्थ्यविद्हरुले कोरोनाको मुख्य निदान खोप नै हो भन्नेमा जोड दिइरहेका बेला नेपालमा भने अहिले खोप अभियान ठप्प छ ।
भारतले अनुदान अनुदानमा उपलब्ध गराएको १० लाख, सरकारले भारतबाटै खरिद गरेको थप १० लाख र चीनले अनुदानमै उपलब्ध गराएको ८ लाख सहित नेपालमा अहिलेसम्म २८ लाख डोज खोप लगाइएको छ । त्यसयता सरकारले थप खोप भित्राउन सकेको छैन । भारतको औषधि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटको नेपाली एजेन्टसँग कमिसनको बिषयमा कुरा नमिल्दा खोप खरिद प्रक्रिया रोकिएको सरकारले स्पष्टीकरण दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको हो ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेका कारण’ भारतबाट खोप ल्याउन नसकिएको बताउनुभएको छ । भारतको सिरम इन्स्टिच्युटबाट ५० लाख डोज खोप खरिद गर्ने समझदारी भइसकेका बेला बिचौलिया भुतप्रेतहरु जागेर १० प्रतिशत कमिशन मागेका कारण समयमै खोप भित्रिन नसकेको मन्त्री त्रिपाठीको भनाइ छ ।
सिरमको पहिल्यैदेखिको लोकल एजेन्टले त्यसरी १० प्रतिशत कमिसन मागेको मन्त्री त्रिपाठीको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार कमिसन माग गर्ने एजेन्टकै कारण खोप आपूर्ति रोकिएको हो । यो कमिसनको खेल मात्र नभइ ठूलो अपराध हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छानविन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुहुन्छ ।
आम नागरिकको स्वास्थ्य जस्तो गम्भीर बिषयसँग जोडिएको बिषयमा जुनसुकै ओहदाको व्यक्तिको संलग्नता भए पनि छुट पाउन नहुने भट्टराईको माग छ । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटको नेपाली एजेन्ट भनेको हुकम डिस्ट्रिब्युटर्स एण्ड लजिस्टिक प्रा.लि. हो । हुकम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । मन्त्रालयको दाबीअनुसार उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेका हुन् ।
हुकमका सञ्चालकहरुसँग निकट रहेको भन्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको पनि यसमा संलग्नता रहेको भनेर आरोप लगाइएको छ । तर चिनजान र भेटघाटको आधारमा मात्रै यसरी कसैसँग कसैको नाम जोड्न नमिल्ने भन्दै भट्टराईले प्रधामन्त्रीकोसमेत बचाउ गर्नुभयो ।
स्वास्थ्य मन्त्री त्रिपाठीको अभिव्यक्तिपछि यता हुकुमले प्रेस विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गरेको छ । तर, सेरमको नेपाली एजेन्ट हुकमले सरकारलाई लेखेको पत्रमा स्पष्टरुमा ४ डलर पर्ने खोपमा १० प्रतिशत कमिसन मूल्य जोडेर ४.४० डलर प्रस्ताव गरिएको छ ।
अहिले भारतमा नै कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । फलस्वरुप अहिले खोप आयात गर्न नेपाललाई थप कठिन हुने देखिन्छ ।जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे भने सरकारकै लापरबाहीले अहिलेको अवस्था सृजना भएको बताउँछन् ।
अहिले पनि चीन, रुसलगायतका मुलुकबाट खोप सहज रुपमा ल्यान सकिने जनस्वास्थ्यविद् बताउँछन् । यो संवेदनशील अवस्थामा सबैले अनुशासीत, इमान्दार र निस्वार्थ भावले एक भएर काम गर्ने हो भने धेरै संक्रमितको ज्यान जोगाउन सकिन्छ । तर स–साना कुरामा पनि व्यक्तिगत फाइदा हेर्न थालियो भने त्यसबाट मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ ।