काठमाडौँ – सरकारले समयमै जोहो गर्न नसक्दा देशभरका अस्पतालहरुमा प्राणवायु अर्थात अक्सिजनको अभाव भएको छ ।
कोरोना संक्रमण भइ गम्भीर बनेका बिरामीहरुलाई अत्यावश्यक अक्सिजन अभाव भएपछि बचाउन सकिने बिरामीहरु पनि मृत्युवरण गर्न बाध्य भइरहेका चिकित्सकहरुले बताएका छन् ।
देशका विभिन्न शहरमा रहेका अस्पतालहरुले अक्सिजनको अभाव भएकाले अवस्था थप विकराल बन्न सक्ने स्थिति रहेको भन्दै सार्वजनिक विज्ञप्ति निकालेका छन् ।
अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारलाई अस्पतालहरुले आग्रह गरेका छन् । राजधानी काठमाडौँदेखि दूरदराजका अस्पतालहरुमा पनि अक्सिजनको अभाव हुन थालेको छ । गम्भीर बिरामीको चाप बढेपछि अक्सिजनको खपत धेरै भएको चिकित्सकहरुले बताएका छन् ।
बाँकेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अक्सिजन चाहिने बिरामीको संख्या अत्यधिक रहेको बताउनुभयो । कोभिडका बिरामीहरुले अस्पताल भरिभराउ भएकोले स्तरीय सेवा दिन पनि कठिन भइसकेको उहाँले बताउनुभयो ।
अस्पतालहरुमा बेड नपाएर कोरोना संक्रमित बिरामीले ज्यान गुमाउनु परिरहेका बेला सरकारले भने डोर टु डोर अर्थात घरमै पुगेर सेवा दिने मेडिकल टिम बनाउने घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परिवारका सबै सदस्य संक्रमित रहेको अवस्थामा मेडिकल टिमले घरमै पुगेर उपचारको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । छैटौँ पत्रकारिता दिवसको अवसरमा आया आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले डोर टु डोर सेवा दिने मेडिकल टिमसहितको गाडी दौडिने र त्यसको संयोजन नेपाल रेडक्रस सोसाइटीले गर्ने बताउनुभयो ।
कोरोना संक्रमित भएर अस्पतालमै पुगेका बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेका बेला सरकारले भने डोर टु डोर सेवा दिन मेडिकल टिम बनाउने परिकल्पना गरेको हो । मृत्युको मुखमा पुगेका बिरामीहरुले उपचारका लागि अस्पतालमा भर्ना हुन नपाउने स्थिति रहेको छ
अस्पतालहरुमा सबै स्वास्थ्य सामग्री र उपकरणसहितको कोभिड वार्ड बिस्तार गर्नु र जनशक्तिको सहज व्यवस्थापन गर्नु अहिलेको टड्कारो आवश्यकता हो । तर सरकार डोर टु डोर सेवा दिन मेडिकल टिम दौडाउने घोषणा गरेर सस्तो प्रचारबाजीमा उत्रेको छ ।