काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सांसद पदबाट राजीनामा दिने कुरा केही दिनलाई टरेको बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको उनले बताए।
ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुई–चार दिनलाई टर्यो, कार्यदल बन्छ ।’
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो ।
नेता नेपालले २६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको र त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको बताउनुभयो ।
माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ।