काठमाडौं - यतिवेला सामाजिक सञ्जालमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको आलोचना भइरहेको छ । ग्यास सिलिण्डरमा उनको फोटो टाँसिएको तस्बिर बाहिररिएपछि विशेषगरी उनले सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ । यस्तो महामारीमा पनि उनले सस्तो लाकप्रियताका लागि काम गरिहेको आलोचकहरुको भनाइ छ ।
विदेशीले दिएको ग्यास सिलिण्डरमा मन्त्री आलले आफ्नो तस्बिर मात्र टाँसेको कतिपयले बताइरहेका छन् ।
यद्यपि, यता वनमन्त्री आलेले भने त्यसको खण्डन गरेका छन् । आफूले निजी पैसाले सिलिण्डर किनेको भएकाले तस्बिर टाँसिएको उनको भनाइ छ । जिल्ला अस्पताल डोटीमा वितरण गरेको ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् ।
सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा सिलिण्डर किनिएको बताए ।
भ्रामक समाचार सम्प्रेषण नगर्न उनले आग्रहसमेत गरेका छन् ।
“अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ”, उनले भने ।
महामारीमा मात्र नभएर आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको पनि उनको दाबी छ ।
मन्त्री आलले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको जानकारीसमेत दिए ।
“म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन” उनले स्पष्ट पारे ।
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ । साथै उनकै व्यक्तिगत लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरेको सचिवालयले जनाएको छ ।