काठमाडौं - संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट हालेको भोलिपल्ट आज प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रधान्न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेको समाचार बाहिरिएको छ । यससँगै विपक्षी गठबन्धनका नेताहरु झस्किएका छन् ।
यतिवेला उनीहरु सिंहदरबारमा यसबारे छलफल गरिहेका छन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल छन् ।
प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशलाई भेटेर अदालत प्रभावमा पार्न खोजेको उनीहरुको विश्लेषण रहेको बझिएको छ ।
विपक्षी गठबन्धनले मुख्यमगरी रिटमा तीनवटा माग राखेको छ । गठबन्धनका नेताहरुले संसद् पुनःस्थापनालाई पहिलो मागका रुपमा राखेका छन् । यस्तै, दोस्रो माग कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियु्क्त गर्न माग गरेका छन् ।
यसैगरी, देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई सोही आधारमा कारबाही गर्न नहुने भन्दै उक्त कारबाही रोक्न मागसमेत गरेका छन् । साथै, यी मुद्दाका प्राविधिक विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
यसैबीच, आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको भन्ने समाचारमा सत्यता नभएको जनाएका छन् । सोमबार राति प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री ओलीलाई भेटेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।
सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही अनलाइनमा प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ । उल्लिखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुःखद र खेदजन्य विषय हो ।”
यसरी समाचार प्रकाशन गर्नु पत्रकार आचारसंहिताको समेत प्रतिकूल भएको विज्ञप्तिमा जनाइएको छ ।