काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ।
निषेधाज्ञा थपबारे कुनै निर्णय नभएको र बुधबार मात्र यसबारे निर्णय हुने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो।
मंगलबारको बैठकमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्नेबारे छलफल भएको छ । साथै, खाद्य तथा किराना पसल बिहान ९ बजेसम्म खुलाउनेबारे पनि छलफल भएको छ ।
निर्माण सम्बन्धी कार्यमा सहजीकरण गर्नेबारे पनि छलफल भएको छ । साथै, आवागमनमा थप कडाइ गर्ने पनि सीडीओहरुको तयारी छ ।
संक्रमण बढिरहेको र परीक्षण पनि ब्यापकरुपमा हुन नसकेको निकाल्दै सीडीओहरु निषेधाज्ञा लम्ब्याउने तयारीमा छन् ।
मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौँ जिल्लाका छन्।
राजधानीका १,०६० जनासहित भक्तपुरका २१५ जना र ललितपुरका २८३ जना गरी उपत्यकामा १,५५८ जना सङ्क्रमित थपिएका छन्।
नेपालका ७७ मध्ये ४८ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
केही दिनदेखि ओरालो लागेको काठमाडौं उपत्यकाको संक्रमण मंगलबारदेखि पुनः उकालो लागेको छ ।