काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि सोमबार र मंगलबार सुनुवाइ हुन सकेको थिएन ।
सरकारी पक्षले न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको निष्पक्षतामाथि प्रश्न उठाउँदै आइतबार इजलास अवरुद्ध बनाएको थियो ।
यसैबीच, संवैधानिक इजलासबाट न्यायाधीशहरु डा. भट्टराई र कार्की नहट्ने भएका छन् । इललासमा भट्टराई र कार्कीमाथि प्रश्न उठेको थियो तर उनीहरुले इजलास नछाड्ने भएका हुन् । बुधबारे इजलास सुरु हुनेबित्तिकै सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीशले इजलास नछाड्ने बताए ।
प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा गठन गरेको इजलासलाई निरन्तरता दिने बताएपछि दुईजना न्यायाधीश नहट्ने भएका हुन् ।
बहसका लागि एकजना बराबर ३० मिनेटको समय छुट्याइएको छ ।
जेठ १४ गते गठन भएको इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर प्रश्न उठेपछि २३ गते आइतवार इजलास पुनर्गठन गएिको थियो ।
१४ गते गठन भएको इजलासमा रहेका न्यायाधीश कार्की र डा. भट्टराईको विषयलाई लिएर आइतवार सरकार पक्षका वकिलले विरोध जनाएका थिए ।
न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई समावेश गरेर प्रधानन्यायाधीश राणाले आफ्नै नेतृत्वमा इजलास गठन गरेका थिए ।