काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेर न्यायाधीशहरूले आन्तरिक छलफल शुरु गरेका छन् । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र महादेव यादव बहस सुरु गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनको पक्षमा उनीहरुले बहस गरेका थिए ।
बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वरले सोध्नु भएको थियो, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ ?’ जसमा थापाले विश्वासको मत नै नलिएको प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गर्नुभएको थियो ।
थापाको बहस सकिएपछि बहस रोकेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र चारजना न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन डा. भट्टराई आन्तरिक छलफलमा जुटेका हुन् । आन्तरिक छलफल पछि पुनः बहस शुरु हुनेछ ।
आन्तरिक छलफलपछि अन्तरिम आदेश दिने नदिनेबारे निर्णय हुनसक्ने बताइएको छ ।
यसअघि प्रधानन्यायाधीश राणा बिरामी परेपछि सोमबार र मंगलबार सुनुवाइ हुन सकेको थिएन ।