काठमाडौँँ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजपनि संवैधानिक इजलासमा बहस हुने भएको छ । रिट निवेदकको तर्फका कानुन व्यवसायीले अस्ति र हिजो लगातार बहस गरेका थिए ।
रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने समय आज सकिँदै छ । हालसम्मरिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यवसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तगर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् ।
संवैधानिक इजलासले निवेदक पक्षलाई अब बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएको छ । इजलासको आदेश अनुसार निवेदक तर्फका कानुन व्यवसायीलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ ।
आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०/३० मिनेटको समय दिइँदै छ । यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्दैछन् । अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट छुट्याइएको छ । अरु कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ ।
अस्ति बुधबारदेखि सुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको सुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ ।
सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । विपक्षी अर्थात सरकारी पक्षको सुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ ।