काठमाडौँँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई किर्ते गरेको आरोप लागेको छ ।उहाँले किर्ते गरेको भन्दै उहाँका विरुद्धमा अदालतमा मुद्धा हाल्ने तयारी भइरहेको जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो।
“उहाँलाई यो उमेरमा त्यस्तो किर्ते काम गर्न कस्ले सिकाएको होला, किर्ते गरेको अभियोगमा जेल पर्नुभयो भने के होला ?” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा अध्यक्ष यादवले पार्टीका निर्णय र दस्तावेजहरुमा ठाकुरले किर्ते गरेको दावी गर्नुभयो।
ठाकुरले किर्ते गरेको भन्दै भोली उहाँका विरुद्धमा अदालतमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। “उहाँले पेश गरेका कागजपत्रहरुमा गरिएका हस्ताक्षरहरुको बैज्ञानिक जाँच गर्ने हो भने उहाँ फस्नुहुन्छ,” अध्यक्ष यादवले भन्नुभयो।
अध्यक्ष ठाकुरले किर्ते गरेका धेरै आधार र प्रमणहरु आफुहरुसँग रहेको पनि यादवले दावी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेर अध्यक्ष ठाकुरले संघीयता, लोकतन्त्र र पार्टीलाई नै क्षती पुर्याएको टिप्पणी उहाँले गर्नुभयो।
प्रधानमन्त्री केपी ओली लोकतन्त्र, संघीयता, मधेश आन्दोलन सिध्याउन लाग्नु भएको छ, महन्थहरु त्यसको मतियार बन्नु भएको छ, अध्यक्ष यादवले भन्नुभयो । बुढेसकालमा अध्यक्ष ठाकुर लोकतन्त्र, मधेश आन्दोलन र संघीयताको विपक्षमा उभिएको यादवको भनाई छ।
आफुले गरेका गल्तीहरु स्विकार गरेर आएमा उहाँहरुसँग सहकार्य र एकता गर्न ढोका बन्द भने नगरिएको उहाँले स्पष्ट पार्नुभयो।
यादवले भन्नुभयो, “उहाँहरुले आत्मालोचना गरेर आएपछि सोच्ने ठाउँ हुन्छ, त्यति निर्दयी र कठोर पनि छैनौ।”
निर्वाचन आयोगमा आफुहरुले राजनीतिक दल सम्वन्धी ऐन अनुसार दल दावी गरेकाले आधिकारीकता आफुहरुले नै पाउने उहाँले जिकिर गर्नुभयो।