काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि षड्यन्त्र र दाउपेचको राजनीति गरेको आरोप लगाएको छ ।
एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने प्रचारबाजी गरेर अन्ततः त्यसविपरीत निर्णयहरु गर्दै ओलीले फेरि पनि षडयन्त्र गरेको आरोप माधव समूहले लगाएको हो ।
एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमार्फत ओलीले एकता विरोधी निर्णयहरु गराएको माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।
आज बालुवाटारमा बसेको संस्थापन समूहको बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ ।
नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ को अवस्था फर्काउनुपर्ने माग राख्दै आएको थियो । तर महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरेकै बैठकले माओवादी नेताहरुलाई स्थायी कमिटिमा मनोनित गर्ने निर्णय गरेपछि माधव समूह भड्किएको छ ।
नेतृ शाक्यले सर्वाेच्चले पनि नमानेको अवैध समितिले गरेका निर्णयहरु स्वीकार गर्न नसकिने बताउनुभयो ।
माधव समूहबिनै बसको आजको बैठकले माओवादी पृष्ठभूमिका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापासहित नेताहरु रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनानित गर्ने निर्णय गरेको छ ।
महाधिवेशन आयोजक समिति भंग भइ केन्द्रीय कमिटिमा रुपान्तरण भएकोले यसअघि माधव नेपालसहित ११ नेताहरुलाई गरेको कारबाही पनि स्वतः निस्प्रभावी भएको घोषणा पनि बैठकले गरेको छ ।
बैठकपछि संवाददाताहरुमाँझ एमाले प्रवक्ता प्रदीप ज्ञवालीले असन्तुष्ट समूहको माग बमोजिम निर्णयहरु भएका जिकिर गर्नुभयो ।
तर नेतृ शाक्यले अवैध समितिमार्फत फेरि पनि महत्वपूर्ण निर्णयहरु गराएर अध्यक्ष ओलीले एकताको भावना विपरीत काम गरेको बताउनुभयो ।
आफूहरुले जेठ २ मा फर्कनुपर्ने, वरिष्ठ नेता नेपालसँग छलफल गरेर एकताका प्रस्तावहरु तयार पार्नुपर्ने, पार्टीमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने लगायतका माग राखेको र यी माग पूरा नहुँदासम्म एकताको वातावरण कञ्चन नबन्ने उहाँले बताउनुभयो ।
तर प्रवक्ता ज्ञवालीले एकताका लागि योभन्दा बाहेक लचकता अब अपनाउन नसकिने बताउनुभयो । जेठ २ मा फर्कने मागबारे पत्रकारले राखेको जिज्ञासामा उहाँले समयलाई पछाडि फर्काउन नमिल्ने तर्क राख्नुभयो ।
आज भएका सबै निर्णयहरु एकताको पक्षमा भएको दाबी गर्दै उहाँले यसमा पनि गलत तर्कहरु प्रस्तुत गरेमा एकताको भावना विपरीत हुने बताउनुभयो ।
एमलो संस्थापन समूहले आगामी शुक्रबार केन्द्रीय कमिटिको बैठक पनि डाकेको छ। तर उक्त बैठकमा सहभागी हुने नहुनेबारे माधव समूहले टुंगो लगाइसकेको छैन ।
बरु आज संस्थापन समूहले गरेका निर्णयहरुबारे छलफल गर्न माधव समूहले भोलि आफू निकट स्थायी कमिटि सदस्यको बैठक डाकेको छ । यो बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने तयारी माधव समूहले गरेको छ ।