काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।
भोलि देखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो।
‘अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र छिर्न दिन्छौं। लामो दुरीका सार्वजनिक सवारीको हकमा मन्त्रिपरिषद्को निर्णय नै कुरेका छौं,’ सिडिओ पराजुलीले भन्नुभयो।
त्यस्तै अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ। साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ।