काठमाडौं – जापानको टोकियोमा जारी लोलम्पिक खेलकुद उद्घाटनको दोस्रो दिन आज नेपाली खेलाडीहरू कल्पना परियार र सोनिया भट्टले खेल्ने मौका पाएका थिए ।
टोकियो ओलिम्पिक २०२० को खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका छन् ।
तर कल्पनाले भने शुटिङमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरेकी छिन् ।
महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गरेकी उनले प्रारम्भिक चरणमा ६ सय १६.८ स्कोर गर्दै आफंैले बनाएको कीर्तिमान तोडेकी हुन् ।
उनले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान रचेकी थिइन् ।
ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनी समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिइन् ।
कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोडेकी थिइन् ।
प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै, महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।
इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन् ।
इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरिन् ।
प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगिन् भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेमा कांस्य पदकका लागि खेल्न पाउने मौकामा फेरि खेल्न पाउनेछिन् ।
कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी भएका हुन् ।
ओलिम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ ।
यसैबीच, चीनकी याङ चियानले जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् ।

गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् ।