काठमाडौं – जापानको टोकियोमा जारी ओलम्पिक– २०२० मा आज नेपाली पौडीवाज गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे उनले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।
टोकियो एक्वाटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट–१ मा रहेकी छिन् । उनको हिटमा नाइजेरिया, मान्टेनेग्रो र गुआमसहित चार देशका चारैजना खेलाडी छन् ।
यो स्पर्धामा गौरिकाले यसअघि नै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०१९ मा दक्षिण कोरियामा भएको फिना वल्ड च्याम्पियनसिपमा उनले ६०.६२ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनी यो स्पर्धामा १३औं सागकी स्वर्ण विजेता पनि हुन् ।
ओलम्पिकमा नेपालका दुईजना पौडी खेलाडी सहभागी छन् । अलेक्जेण्डर शाह एलेक्सले मंगलबार पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरिसकेका छन् । उनी आफ्नो हिटमा प्रथम हुँदै राष्टिय कीर्तिमान तोड्न सफल रहेका थिए । तर उनी अर्को चरण भने पुग्न सकेनन् ।
गौरिकाको खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।